हेटौंडा– यहि माघ ७ गते हेटौंडामा ज्येष्ठ नागरिकहरुको समस्या समाधानमा केन्द्रित राष्ट्रिय कार्यशाला हुने भएको छ । आज हेटौंडामा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघंले पत्रकार सम्मेलन गरी कार्यशालाबारे जानकारी दिएको हो । कार्यशालामा बृद्धाश्रम तथा दिवा सेवा केन्द्रका समस्या समाधानका लागि बृहत छलफल गरिने महासंघका अध्यक्ष मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सहित प्रदेश मन्त्रीहरु तथा प्रदेश सांसदहरुको सहभागिता हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यशालामा भएको छलफलबाट आएको निष्कर्षलाई आधार मानी हेटौंडा घोषणापत्र जारी गरिने महासंघले जनाएको छ । कार्यशालामा नेपाल भरका १ सय ३ वटा वृद्धाश्रम तथा ८८ वटा दिवा सेवा केन्द्रका सञ्चालकहरु तथा महासंघका ७२ जिल्लाका प्रतिनिधीहरु सहित करिब ३ सय जनाको सहभागिता रहने महासचिव छत्र बहादुर प्रधानले जानकारी दिनुभयो ।