हेटौंडा: नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले स्थानीय तहको सरकारलाई बलियो बनाउन तिर लाग्न सबै नगरबासीलाई आग्रह गर्नुभएको छ । स्थानीय सरकार आम नागरिकले बोलाउँदा सुन्ने र छाम्दा भेटिने सरकार भएको भन्नुहुँदै उहाँले गठबन्धनको नाममा केन्द्र र प्रदेश सरकार जस्तै कमजोर बनाउने चलखेल भएकाले जनताको त्यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
स्थानीय सरकार जनताले चुनेर पठाएका जनप्रतिनिधि ५ वर्षसम्म रहने साथै बिचमा यसलाई कुनै अदालतले पनि परिवर्तन गर्न नसक्ने भएकाले स्थानीय तहमा बिकास निर्माणको काम तिब्र गतिमा अगाडि बढाउन एउटै पार्टीको उम्मेदवारलाई जिताउने कि ५ दलको ५ उम्मेदवारलाई रमिता गर्न पठाउने भन्ने निर्णय अब जनताले लिनुपर्ने उहाँको भनाई थियो । गठबन्धनको नाममा ५ दलका ५ टाउको एकै ठाउँमा जुध्दा काम भन्दा बढी बिबाद सिर्जना हुने उहाँले दाबी समेत गर्नुभयो ।
अब फेरि एमालेले जीत सुनिश्चित गरि नगरमा गर्न बाँकी रहेका पुर्वाधार बिकासका कामहरुलाई पुर्णता दिने पनि पौडेलले प्रतिबद्धता जनाउनुभयो । आफ्नो घोषणापत्रमा उल्लेख गरेका कामहरुलाई जनताकै बिचमा रहेर पूरा गर्न समेत एमाले प्रतिबद्ध भएको उहाँले बताउनुभयो ।