सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले जापान सरकार, शिक्षाका लागि विश्वव्यापी साझेदारी र विश्व बैङ्कबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले भन्सार महसुल सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।