मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) बिरुद्ध स्थानीय तहहरुको तयारी एवम् अवस्थाका बारेमा शुक्रबार जिल्लाको पुर्वी क्षेत्रको अनुगमन गर्नुभएको छ । जिल्लाको पुर्वी क्षेत्र अन्तरगत शुक्रबार उहाँले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६, १७ र १८, तथा बकैया र बागमती गाउँपालिकामा अनुगमन गर्नुभएको हो ।
स्थानीय तहहरुमा कोभिड–१९ संक्रमण न्यूनिकरण तथा रोकथामको लागि भएका काम एवम् स्थानीय तहहरुलाई हौसला प्रदान गर्न अनुगमन सुरु गर्नुभएको हो । यस अघि उहाँले जिल्लाको मनहरी र मकवानपुरगढी गाउँपालिकामा समेत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षा निकायहरुसंग समेत जानकारी लिनुका साथै आवश्यक निर्देशन समेत दिने गर्नुभएको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकामा गरिएको अनुगमनका क्रममा राहत वितरण गर्दा सामाजिक दुरी कायम नगरी वितरण गरिएको पाईएको उहाँले बताउनुभयो । आज अनुगमनका क्रममा हेटौंडा–१६, १७ र १८ नम्बर वडा कार्यालयले भिडभाडमा राहत वितरण गरेको पाईएकोले सामाजिक दुरी कायम गरेर व्यवस्थित रुपमा बाड्न उहाँले निर्देशन समेत दिनुभयो ।
त्यस्तै जिल्लाको बकैया गाउँपालिकाले जुरेली, हात्तिसुँडे र ठिङ्गनमा गरि तीन स्थानमा २१ बेडको क्वारेन्टाईन तयार गरेको, सचेतनामा जोड दिएको, विदेशबाट आएकाहरुको नामावली तयार गरेर घरघरमा स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको अध्यक्ष दामोदर खनालले बताउनुभयो । बकैया गाउँपालिकामा अनुगमन गर्दा गाउँपालिकाको कोशिस ठिकै भएको पाईएको प्रमुख खुलालले बताउनुभएको छ । तर, राहत वितरण गाउँपालिकाको कोषबाट नभएको प्रति जिसस प्रमुखले ध्यानाकर्षण गराउनुभएको छ । उहाँले गाउँपालिकाको कोषबाट मात्र एकद्धार प्रणालीबाट राहत वितरणको व्यवस्थापन गर्न निर्देशन समेत दिनुभयो । उहाँले विदेशबाट आएकाहरुलाई विशेष निगरानीमा राख्न गाउँपालिकालाई आग्रह पनि गर्नुभएको छ ।
त्यस्तै जिल्लाको बागमती गउँपालिमा गरिएको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकामा एम्बुलेन्स र स्वास्थ्यकर्मी एवम् स्वास्थ्य सामग्रीको समस्या रहेको, बाहिरबाट गाउँमा आउनेलाई निगरानीमा राखिएको, फापरबारी÷झुरझुरे र राईगाउँमा गरि तीन स्थानमा ३५ बेडको क्वारेन्टाइन तयार गरेको, नाकाहरुमा हेल्थडेस्क निर्माण गरिएको जानकारी दिनुभयो । सो क्रममा प्रमुख खुलालले आफ्नो क्षमता अनुसार गाउँपालिकाको तयारी ठिकै रहेको र स्वास्थ्य सामग्रीका विषयमा आवश्यक समन्वय गर्ने बताउनुभयो । अनुगमनका क्रममा उहाँले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्नुभयो । अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, कर्मचारी उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।