मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन जंगललगायत प्राकृतिक स्रोतको संरक्षणमा सबैको साझा धारणा र सहभागिता जरुरी रहेको बताउनुभएको छ । जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा बुधबार हेटौंडामा भएको डिभिजन स्तरीय वार्षिक प्रगती समिक्षा गोष्टिमा उहाँले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रमुख खुलालले प्राकृतिक स्रोतको संरक्षणमा सबैले साझा धारणा बनाउनुपर्नेमा जोड दिनुहुँदै पृथ्वी सबैको साझा भएकाले यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुने बताउनुभयो । प्राकृतिक सम्पदाको संरक्षण र यसको बहुआयामिक उपयोगका लागि आवश्यक पर्ने ऐन, कानून र नीति नियम बनायर कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाबाट आर्थिक वर्ष २०७७÷०७८ मा संचालन भएका बार्षिक कार्यक्रमहरु र त्यसमा भएको प्रगतिको समिक्षा गर्नुका साथै असल अभ्यासको पहिचान गरी विस्तार गर्ने र कार्यक्रम कार्यान्वयन गर्दा आइपरेका समस्या÷चुनौतीहरु बारेमा छलफल गर्नुका साथै समाधानका उपायका बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा कार्यालयबाट भएका प्रगतिका बारेमा अधिकृत राधिका शर्माले जानकारी गराउनुभएको थियो, भने कार्यालय प्रमुख ईमनाथ पौड्यालले सहभागिबाट उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा जिल्ला वन क्षेत्र समन्वय समितिका सदस्यहरुको उपस्थिती थियो ।