हेटौंडा–बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको वैठक भिडियो कन्फरेन्समार्फत बसेको छ । सभामा कोरोना संक्रमण र रोकथामका उपायसम्बन्धी छलफल भएको छ । वैठकमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्री युवराज दुलाल, उपसभामुख राधिका तामाङ तथा समितिका सदस्यहरु सहभागी हुनुभएकाे थियाे ।

वैठकमा सांसद कञ्चन खनालले होम क्वारेन्टाइनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएकाे छ । उहाँले शहर केन्द्रित रहेका विद्यार्थीलाई गन्तव्यमा जान सहजीकरण प्रदेश सरकारले गर्नुपर्ने धारणा पनि राख्नुभयाे । सांसद गोमा भुर्तेलले लकडाउन अझै प्रभावकारी बनाउनुको विकल्प नरहेको भन्दै पैदल यात्रुको विषयमा सरकारले लचकता देखाउनुपर्ने बताउनुभयाे । सांसद प्रेमबहादुर पुलामी ‘छिन्तु’ले प्रदेश सभा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा लकडाउन र समस्या परेको जनता समक्ष पुगेर समस्याहरु समाधान गर्नुपर्ने बताउनुभएकाे छ ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सदस्यहरु सुरक्षित रहँदै जनतालाई परेको समस्यामा ध्यान दिनुपर्ने बताउनुभयाे । उहाँले लकडाउन र नेपाल सरकारले कोरोनासम्बन्धी गरेको निर्णयहरु कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभयाे । सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेशमा ३ हजार भन्दा बढीको र्‍यापिड टेष्टबाट कोरोनाको एन्टीडबी परीक्षण भएको बताउनुभयाे । उहाँले प्रदेश सरकारले पर्याप्त क्वारेन्टाइनको व्यवस्था गरेको आइसोलेन अझै थप्ने तयारी गरेको पनि जानकारी गराउनुभएकाे थियाे । मन्त्री दुलाले प्रत्येक दिन कोरोनासम्बन्धी प्रदेश सरकारले केन्द्र सरकार र स्थानीय तहसँग समन्वय गरिरहेको पनि बताउनुभयाे ।

अनलाइनखबर