काठमाण्डौ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित, प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । डा. पुनले आज प्रेस विज्ञप्ति निकालेर आफूलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयले सञ्चालन गरेको कोभिड–१९ को अभियानमा सहयोग पुर्याउनका लागि मन्त्रालयमा उपस्थित हुन पत्र प्राप्त भएको जानकारी दिनुभएको छ ।

यो  विषयमा आज नै मन्त्रालयमा उपस्थित भइ सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको विज्ञप्तिमा उल्लेख छ । ‘यसलाई मैले वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएर आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु’, विज्ञप्तिमा भनिएको छ । उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध हुन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।