मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले पालिकामा बसाई सरी आउनेलाई घर उपहार दिने भएको छ । गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनीक गर्दै यस्तो घोषणा गरेको हो ।
बिकटताका कारण पनि पालिकाबाट बसाईसराई बढ्दै गएको भन्दै गाउँपालिकाले पालिकामा बसाई सरेर आउने परिवारलाई घर निर्माण गरिदिने नीति लिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । “सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार” भन्न्ने नाराका साथ पालिकाले उक्त नीति ल्याएको उहाँले बताउनुभयो ।
पालिकाले बसाई सरी आउनेलाई २ कोठे घर निर्माण गरिदिने गाउँपालिका उपाध्यक्ष बनस्थम थिङले बताउनुभयो । “राक्सिराङ गाउँपालिकामा बाहिरबाट जो–कोही परिवार बसोबास गर्ने गरी आएमा पालिकाले घर बनाइदिन्छौँ, अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएका हौँ ।” उहाँले भन्नुभयो ।
पालिकाले आगामी आर्थिक वर्षका लागि ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बजेट ल्याएको छ । पालिकालाई केन्द्रबाट अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको थियो । पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख, आर्थिक विकासतर्फ ३ करोड ७४ लाख, कृषितर्फ १ करोड ७२ लाख, स्वास्थ्यतर्फ ४ करोड ७० लाख, पूर्वाधार विकास विकासतर्फ ७ करोेड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शनिबार गाउँ सभाको चौथो अधिवेशनमा पालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत समेत पारित भएको छ । पालिकाका उपाध्यक्ष थिङले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो ।