रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ । वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ । यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो ।
प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन् । भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गर्नुभएको छ ।
हिजो वाग्नर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो । योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई रोक्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिनुभएको थियो । रूसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह समेत गरेको थियो ।