काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिएको बताउनुभएको छ । वडा अधिवेशनको आज भर्चुअल रुपमा उद्घाटन गर्दे अध्यक्ष ओलीले देशभर एकै पटक वडा अधिवेशन गर्ने एमाले पहिलो दल भएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले विगतमा पार्टी भित्रका कुरा बाहिर ल्याउने र एकतामा खलल पुर्याउनेहरू बाहिरिए सँगै पार्टी थप एकताबद्ध भएको बताउनुभयो । अध्यक्ष ओलीले महाधिवेशनलाई सौहार्दतापूर्ण र सर्वसम्मत बनाउन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले वर्षातका कारण हुन पुगेको धनजनको क्षति यकिन गरी पीडितलाई शीघ्र राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
अध्यक्ष ओलीले समृद्ध नेपाल र सुखी नेपाली एमालेको एजेन्डा भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले एमाले अहिले पनि मुलुकको पहिलो पार्टी रहेको बताउँदै राष्ट्र निर्माणको अभिभारा एमालेले लिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी र कम्युनिष्ट शक्तिको विभाजन गर्ने तत्त्वहरूको समूह भएको आरोप पनि लगाउनुभयो । एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुन लागेको हो । आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने छ भने बाढी पहिरो प्रभावित जिल्लामा भने आज वडा अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन मङ्सिर १० गते देखि १२ गते सम्म चितवनमा हुंदैछ ।











