काठमाडौं – नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत आज देशैभर एमालेको वडा अधिवेशन सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका ६७४३ वडाको अधिवेशन उदघाटन गर्नुभएको छ । उहाँले अधिवेशन उच्चस्तरीय समझदारीका रुपमा, सर्वसम्मतरुपमा सफलतापूर्वक सम्पन्न हुने विश्वास गर्नुभएको छ । ‘दुनियाँका सामु नै अनुकरणीय रहोस्,’ उहाँको भनाइ छ । वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनर्संरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने एमालेले निर्णय गरेको छ । पार्टीले नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभएमात्र निर्वाचन विधि अपनाउन पनि भनेको छ । ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ ।