file photo

काठमाडौँ । सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल यत्तिखेर राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्ने अन्तिम तयारीमा छन् । राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफललाई तीव्रता दिइ रहेका हुन् ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको थियो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरू सहभागी बैठकमा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको छ ।
यसैबीच आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदैछ । यस अघि आजै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगसमेत छलफल गर्दै हुनुहुन्छ । जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकसमेत बस्ने तयारी छ ।
भावी राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भोलि फागुन १३ गते शनिबार बिहान ८ः३० केन्द्रीय कार्यसम्पादन समितिको बैठक ढाँकेको छ ।
उता सत्तारुढ दल एमालेले पनि राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउन भोलि बिहान (शनिबार) नै पदाधिकारी बैठक ढाँकेको छ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_ ले भने आज (शुक्रबार) नै राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो १२ः३० बजेका लागि पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनुभएको हो । #onlineradionepal