सांकेतिक तस्विर

मकवानपुर । मकवानपुरमा लागुऔषध चरेससहित तीनजना पक्राउ परेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाबाट प्रहरीले ४५ किलो लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको हो ।
भीमफेदी–२ भैँसेबाट ४५ किलो चरेस र करिब पाँच किलो गाँजासहित तीनजना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका– ८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङ्तान, कैलाश गाउँपालिका– १ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्रबहादुर घलान र भीमफेदी– १ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् ।
मंगलबार दिउँसो प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख ६०९१ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।