मकवानपुर । गणतन्त्र दिवस २०८१ को अवसरमा सोमबार हेटौंडामा वृक्षारोपन गरिएको छ । दिवसको अवसरमा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौंडा–८, स्थित चिल्डेन पार्कमा वृक्षारोपन गरिएको हो ।

वृक्षारोपन कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्रले संथागत गरेको संघीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार सम्बृद्ध हुँदै गएको बताउनुभयो । उहाँले संघीयतापछि सेवा प्रवाहका तथा विकास निर्माणका काम नयाँ ढुङ्गले अघि बढेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले गणतन्त्र दिवसको अवसर पारेर मुख्यमन्त्री, प्रमुख सचीव लगायतको ट्याग सहित रोपिएको विरुवा स्थानीय वडा कार्यालयले महत्वका साथ अपनत्व लिई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । करीब दश कठ्ठा क्षेत्रफलमा फैलिएको चौरमा एक सय भन्दा बढी विभिन्न जातका विरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले जानकारी दिनुभयो । वृक्षारोपन कार्याक्रममा प्रदेशका मन्त्री, सचिव लगायतको सहभागिता रहेको थियो ।