हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज सुधार गर्न आफैँबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । परिवर्तनशील युवा अभियान नामक गैर सरकारी संस्थाको प्रथम वार्षिक साधारणसभाको मंगलबार हेटौंडामा उद्घाटन गर्नुहुँदै प्रुख खुलालले युवाले परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने बताउनुभएको हो ।

पछिल्लो समय कतिपय युवाहरु सत्य तथ्य नबुझी सामाजिक सञ्जाल मार्फत व्यक्तिको चरित्रहत्या गर्ने र अर्कालाई खुइल्याउने प्रबृतिमा लागेको प्रति दुख व्यक्त गर्दै सामाजिक सञ्जालको सदुपयोगमा युवाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । देशका युवाहरुको जमघट मार्फत समाज परिवर्तन गर्न युवाहरुले सुरु गरेको अभियान स्वगतयोग्य र प्रशंसनीय रहेको भन्दै युवाहरुलाई स्वरोजगार बन्दै समाज परिवर्तन गर्ने अभियानमा समेत लाग्न आग्रहगर्नुभएको छ । युवाकै सक्रियतामा मुलुकको समृद्धि सम्भव रहेको प्रमुख खुलालको भनाई थियो ।
कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले युवाहरु भविष्यको कर्णधार मात्रै नभएर वर्तमानको साझेदार समेत भएकोले उनीहरुलाई सोहि अनुसारको ब्यवहार गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरका पुर्व सामाजिक विकास अधिकृत राम कृष्ण थापाले युवाहरुमा सकरात्मक सोच कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै युवाका क्षेत्रमा नैतिक शिक्षाको कमि आएको भन्दै युवा अभियानहरुले यस्तो कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक तथा पैस चौतारीका मकवानपुर अध्यक्ष प्रकाश दाहालले युवाहरु कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्दै प्रविधिको सदुपयोग गरेर अगाडि बढाउन अभियानले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । युवाहरु उत्पादनसंग जोडिन आफै योजना बनाएर आउनु अत्यन्तै सकारात्मक रहेको उहाँको भनाई थियो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठले युवाहरुले अरुका कुराहरु सुन्नुपर्ने र आफ्ना कुरा पनि सौहार्द पुर्वक राख्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुले अरुबाट आफूले अपेक्षा गरे अनुसार कै व्यवहार अरुलाई पनि गर्नुपर्ने उहाँको धारणा थियो । विगत देखिनै युवाहरुलाई सहि ढंगले परिचालन गर्न वा दिशा निर्देश गर्न समाज कही न कही चुकिरहेको उहाँको धारणा थियो ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष तथा शान्तीको लागि साझा अभियान कोक्यापका राष्ट्रिय उपाध्यक्ष दीपेन्द्र ढकालले युवाहरुलाई खेलकुद मार्फत अनुशासित नागरिक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले देशको लागि खेल खेलिरहेका कतिपय खेलाडीहरु सम्बन्धित निकायले बेवास्ता गर्दा निरास भएर बस्नुपर्ने अवस्था रहेकोले खेलाडीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम यस्ता युवा अभियानहरुले ल्याउनुपर्ने बताउनुभयो । युवा समाजसेवी विकेशलाल श्रेष्ठले युवाहरु लागेमा हरेक असम्भव भनिएको कामहरु समेत सम्भव हुने धारणा राख्नुभएको थियो ।
प्रदेश ३ को राजधानी हेटौंडामा देशभरका ४० भन्दा बढी जिल्लाका युवाहरु हेटौंडामा भेला भएका थिए । साधारण सभामा अभियानका अध्यक्ष अमृत चिमरियाले वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रकृती पाण्डेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारण सभा अभियानका अध्यक्ष अमृत चिमरियाको अध्यक्षतामा भएको हो ।