हेटौंडा– थाहा नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन र क्वारेन्टाइनमा बसेकालाई दैनिक प्रतिव्यक्ति दुई वटा अण्डा र हप्ताको दुईदिन कुखुराको मासु मकवानपुर कुखुरा व्यवसायी संघले उपलब्ध गराउने भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा नै पुगेर संघ प्रतिनिधिहरुले कोरोना संक्रमणको जोखिममा रहेकाहरुका लागि सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेकाहरुलाई आवश्यक कुखुराको अण्डा र मासु सहयोग उपलब्ध गराएको हो ।
संघका अध्यक्ष राजु अधिकारी, वरिष्ठ उपध्यक्ष प्रतिमा श्रेष्ठ, उपाध्यक्ष गोकुल पौडेल, महासचिव श्यामसुन्दर परियार तथा सदस्य प्रदीप अधिकारी नेतृत्वको टोली थाहा नगर पुगेर थाहा नगरका उपमेयर खड्ग गोपालीलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
संघले यसअघि हेटौंडास्थित आइसोलेसन वार्ड र मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि पनि सहयोग उपलब्ध गराएको थियो । उपमेयर गोपालीले क्वारेन्टिनमा अहिले दुईजना मात्रै रहेको र आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए । थाहा नगरपालिकाले थाहा–४ स्थित पानोरमा रिसोर्टमा १० बेडको र थाहा–६ स्थित अध्याय रिसोर्टमा ५ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।
‘कुखुराको मासु र अण्डामा हुने पौष्टिक तत्वले क्वारेन्टाइनमा रहने व्यक्ति र आइसोलेसनमा उपचाररत् कोरोना संक्रमितको रोगसँग लड्ने प्रतिरक्षा शक्ति बलियो हुने भएकोले सहयोग गरेका हौं ।’, संघ अध्यक्ष राजु अधिकारीले संघको सामाजिक उत्तरदायित्वअन्तर्गत् विभिन्न समयमा रचनात्मक उपस्थिति समाजमा जनाइरहेको समेत स्मरण गराए ।