मकवानपुर – नेकपा एमाले बागमती प्रदेश किमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पार्टीका अबका सम्पूर्ण गतिविधिहरु चुनावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शनिबार एमाले हेटौंडा–९ नम्बर वडा कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै नेता खुलालले आगामी तीनै तहको चुनावलाई आफ्नो प्राथमिकता बनाएर पार्टीका गतिविधिहरु सञ्चालन गर्न निर्देशन दिनुभयो ।

No description available.

चितवनको सौराहामा सम्पन्न १०औं महाधिवेशनले आगामी आमनिर्वाचनबाट मुलुकको सबभन्दा ठूलो दल बन्ने र सरकारको नेतृत्व गर्ने प्रस्ताव नै पारित भएको बताउनु हुँदै उहाँले सोही अनुसार पार्टी वडा कमिटी र टोल कमिटीलाई परिचालित हुन निर्देशन दिनुभयो । अहिले पनि पार्टी माथि चौतर्फि हमला भईरहेको भन्दै उहाँले जनताको मन जित्ने गरि मजबुत र गम्भीर बनेर सक्रियतापूर्वक अगाडि बढ्न सुझाव दिनुभयो ।
एमाले ९ नम्बर वडा कमिटी अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य नेता खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेको छ । बैठकले वडामा रहेको १६ वटै टोल कमिटी गठन गरेर बैठकबाट अनुमोदन गर्नुका साथै टोल कमिटी गठनमा सहयोग र व्यवस्थापन गर्ने माथिल्लो कमिटी तथा कार्यकर्ताहरुलाई धन्यवाद प्रस्ताव पारित गरेकाे छ । यस्तै बैठकले निर्वाचन आयोगद्धारा जारी मतदाता नामावली संकलन कार्यमा टोलका मतदाता नामावलीमा छुटेका नागरिकलाई आवद्ध गराउन सकृय भएर लाग्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले यहि पुष २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि पुष १६ गते बैठक बसेर प्रतिनिधि छनोट गर्ने तथा आगामी माघ १५ गते वडा कमिटीको आयोजनामा बनभोज कार्यक्रम गर्ने निर्णय गरेको वडा कमिटीका सचिव नारायण खतिवडाले जानकारी दिनुभयो । बैठकले बनभोज कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेर जिम्मेवारी समेत प्रदान गरिएको उहाँले बताउनुभयो । बैठकमा एमालका जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी सदस्यहरु, वडा तथा टोल कमिटीका अध्यक्षलगायत पदाधिकारी एवम सदस्यहरुको सहभागिता थियो ।