काठमाडौँ – अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले दल दर्ता गराएको आयोगका सह–प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।
यसैगरी हिजो नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी(जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले दल दर्ता गराएको सह–प्रवक्ता धमलाले बताउनुभयो । १२ राजनीतिक दलमध्ये ९ राजनीतिक दलले ७ वटै प्रदेशमा, २ राजनीतिक दलले प्रदेश २ मा र एउटा राजनीतिक दलले प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा निर्वाचनमा भाग लिने छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि आजसम्मका लागि तोकिएको थियो । यही पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली काँग्रेसका तीन सदस्य छन् । निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ जार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ ।