सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज (बिहीबार) प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै चुनावको मिति घोषणा हुने बताउनु भएकाे हाे ।
प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गर्नु भएकाे थियाे । ‘शेरबहादुर देउवाले हिजो मलाई फोन गरेर आजलाई बैठक राखेर चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु । अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्छ’ प्रेस सेन्टरका पूर्व पदाधिकारीहरुलाई प्रचण्डले सुनाउनु भयाे ।