मकवानपुर, असार १० — हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । मंगलबार बसेको नगरसभा बैठकमा उपप्रमुख राजेश बानियाँले १९ प्रतिशतले वृद्धि गरिएको बजेट प्रस्तुत गर्दै संघीय, प्रदेश तथा आन्तरिक स्रोतहरूबाट आम्दानीको पूर्वानुमानसहित आगामी कार्यक्रमको खाका सार्वजनिक गर्नुभएको हो ।

बजेट स्रोतको विवरणअनुसार उपमहानगरपालिकाले आन्तरिक राजस्वबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँडमार्फत ९२ करोड ७० लाख ५५ हजार र प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ समेत बजेट व्यवस्थापनमा समावेश गरिएको छ ।
प्रशासनिक व्यवस्थापन तथा सञ्चालनका लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ भने सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, संस्कृति, खेलकुद र वातावरणलाई प्राथमिकतामा राखिएको छ ।
शिक्षातर्फ ५ करोड ५१ लाख रुपैयाँको कार्यक्रम प्रस्तुत गरिएको छ। स्वास्थ्य क्षेत्रमा ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, पोषण कोसेली, डायलाइसिस सेवा, निःशुल्क स्वास्थ्य बीमा, रक्त सेवा जस्ता कार्यक्रमका लागि २ करोड ७८ लाख रुपैयाँ बजेट छुट्याइएको छ। महिला, बालबालिका, समावेशीकरण तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार विनियोजन गरिएको छ।
हेटौंडा अस्पतालमा निर्माणाधीन बाल एनआईसियु/पिआइसियु सेवा सञ्चालन गर्न २ करोड रुपैयाँ र भुटनदेवी माविमा मेघा विद्यालय निर्माणका लागि ५० लाख छुट्याइएको छ । संस्कृतिको प्रवर्द्धनमा १ करोड २० लाख खर्च गरिनेछ ।
सामाजिक विकासतर्फका अन्य योजना कार्यान्वयनका लागि १६ करोड ८३ लाख ५५ हजार बजेट छुट्याइएको छ। हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, जलवायु अनुकूलन, फोहोरमैला व्यवस्थापन, ढल–नाला सुधार, खानेपानी तथा सरसफाइ लगायतका कार्यक्रमका लागि ३ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। वातावरण संरक्षणसम्बन्धी कोषहरूमा ६ करोड २० लाख ५० हजार रकम व्यवस्था गरिएको छ।
खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय महिला फुटबल, सहिद स्मृति गोल्डकप, उपमेयर कप, मेयर कप लगायत प्रतियोगिता तथा पूर्वाधार निर्माण र खेलकुद सामग्री सहयोग, तालिमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
स्वरोजगार प्रवर्द्धनका लागि ‘मेयरसँग स्वरोजगार कार्यक्रम’ अन्तर्गत चिज उद्योग, सुशी, काष्ठकला, मकैको खोस्टा प्रशोधन, थाकल चकटी निर्माण, बारिष्ठा तालिमलगायत कार्यक्रमका लागि ९८ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
आर्थिक विकास योजनाका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ छुट्याइएको छ। अटो भिलेज (हेटौंडा–११), वाटर फन पार्क (हेटौंडा–१४), गंगा आरती स्थल (हेटौंडा–१०) तथा निर्माणाधीन बसपार्क तथा टर्मिनल भवनको काम सम्पन्न गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक सेवा, पूर्वाधार विकास, रोजगार र वातावरणलाई सन्तुलनमा राख्दै आगामी वर्षका लागि बजेट र कार्ययोजना अघि सारेको छ ।











