हेटाैंडा– बागमती प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री डोरमणि पौडेल आफू विरुद्धको अविश्वासको प्रस्ताव माघ १० गतेभित्र टुंगिने मुख्यमन्त्री पौडेलले दाबी गर्नुभएको छ । उद्योग संघ मकवानपुरको १९औं साधारणसभाको शनिबार हेटौंडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फेल हुने दावि गर्नुभयो ।
मुख्यमन्त्री पोडेलले आफ्नै जिल्लाबाट निर्वाचित नेकपाकै सांसदहरू आफू विरुद्धमा हस्ताक्षर गर्दै हिँडेको भन्दै उहाँले मकवानपुर जिल्लाले यसको गम्भीर समीक्षा गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले पुस १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । उहाँले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने मकवानपुरे सांसदहरु विकासविरोधी र अस्थिरता चाहने तत्व भन्दै आरोप लगाउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेले प्रदेशको राजधानी देखि मकवानपुर क्षेत्रमा भईरहेको विकास देख्न नसकेर आफु बिरुद्ध उत्रिएको तर त्यो फेल हुने बताउनुभयो । नेकपा विरुद्ध मकवानपुरका नेकपाका सांसद् मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उद्योग र औद्योगिक क्षेत्रको विषयमा धेरै काम गर्न खोजेता पनि संघिय सरकारले औद्योगिक क्षेत्र प्रदेश मातहतमा ल्याउन नदिएर समस्या भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले नेकपा सरकारले फेरी जनतामा अस्थिरताको डर सिर्जना गरेको बताउनुभयो । कोरोना कहर बिच भर्खरै सुरु हुन लागेको वातावरण तरंगित बनाउन ओली सरकार चालेको कदम असंवैधानिक भएको उहाँको भनाई थियो । सरकारले उद्योगी र निजी क्षेत्रलाई अहिले सम्म राहतका प्याकेज दिन नसकेको प्रति उहाँले ध्यानाकर्षण गराउनुभयो ।
उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभामा राक्सिराङ गाउँपालिकाका ३२ विपन्न चेपाङ परिवारलाई न्यानो कपडा, बाटो खर्च र मैदा सहयोग गरिएको थियो ।