हेटौँडा — मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ। एघारौं गाउँसभा बैठकमा उपाध्यक्ष भक्त बहादुर खत्रीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खनिज स्रोतको सम्भाव्यता अध्ययनदेखि शिक्षा, कृषि, पूर्वाधार र बजार व्यवस्थासम्मका योजनाहरू समेटिएका छन्।
उपाध्यक्ष खत्रीका अनुसार बकैया वडा नम्बर ८ र ९ मा फलाम खानीको सम्भाव्यता अध्ययन गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग समन्वय गरिनेछ। त्यसैगरी, बकैया–२ कालापानी धियाल र वडा नम्बर ७ तल्लो सिंतान टोलको गोव्रे खोला आसपास फैलिएको युरेनियम स्रोतका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ।
शिक्षाको क्षेत्रमा ‘नो बुक फ्राइडे’ कार्यक्रम लागू गर्दै सामुदायिक विद्यालयहरूमा प्रत्येक शुक्रबार किताव बाहेकका अतिरिक्त गतिविधिमा ध्यान केन्द्रित गरिने छ। साथै, बहुमुखी क्याम्पस स्थापनाका लागि पहल गरिने र युवा लक्षित सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
भूमि व्यवस्थापनलाई व्यवस्थित गर्न भूमि बैंक स्थापना गरिने योजना सार्वजनिक गरिएको छ । गाउँभित्र रहेका काठका बिजुली पोल हटाएर सुरक्षित प्रविधि अवलम्बन गरिने कार्यक्रम पनि नीति दस्तावेजमा समावेश गरिएको छ।
कृषिलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले “एक वडा, एक हाटबजार” नीतिलाई निरन्तरता दिनेछ। स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आगामी आर्थिक वर्षको बजेट असार १६ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ।