मकवानपुर – कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र ५३ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १६औं गाउँसभाबाट नीति तथा कार्यक्रमसहितको बजेट पारित गरिएको हो ।

सभामा अध्यक्ष लोकबहादुर मुक्तानले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा गाउँपालिकाको मुख्य नारालाई आत्मसात् गर्दै कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीता, महिला सशक्तीकरण र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । अध्यक्ष मुक्तानले युवालाई लक्षित गर्दै कृषि क्षेत्रमा सीप, प्रविधि र पूँजीको उपयोगमार्फत उत्पादन र रोजगारी विस्तार गरिने बताए। एक घर एक धारा तथा एक घर एक शौचालय कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै मासिक हाटबजार, कृषक परिचयपत्र वितरण र पशु बीमा अनुदान कार्यक्रमसमेत सञ्चालन गरिने बताए ।

चेली प्रोत्साहन, किशोर–किशोरी अन्तरक्रिया, उपाध्यक्षसँग जनश्रमदान, अध्यक्षसँग विपन्न कार्यक्रम र जेष्ठ नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। ‘बाआमालाई सञ्चै छ’ भन्ने भावनासहित दीर्घरोगी नागरिक लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने पूर्णखोप सुनिश्चितता र सुत्केरी पोषण प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

सभामा उपाध्यक्ष बालकुमार मल्लले प्रस्तुत गरेको ५३ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट अनुसार आन्तरिक स्रोतबाट २ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत करिब ४१ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ भने प्रदेश सरकारबाट १६ करोड ६५ लाख रुपैयाँ सहयोग हुने अनुमान छ । चालु खर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय रुपैयाँ र पूँजीगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकासतर्फ करिब २ करोड ७७ लाख, सामाजिक विकासतर्फ करिब २३ करोड ५० लाख, पूर्वाधार विकासतर्फ १६ करोड ४४ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ९२ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख बजेट छुट्याइएको छ भने प्रशासनिक व्यवस्थापनतर्फ करिब ९ करोड ७९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सभामा लेखा समिति संयोजक सुर्यबहादुर ब्लोनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत सात जना चेलीलाई नगद २०–२० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा कमला श्रेष्ठ, सानुमाया स्याङ्तान, पार्वती सुवेदी, राधिका तितुङ, सविना मुक्तान, एलिना मुक्तान र शर्मिला मुक्तान रहेका छन्। सभाले नीति तथा कार्यक्रम र बजेट प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै कार्यान्वयनको चरणमा लैजाने निर्णय गरेको छ।