मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालयले मातहतमा रहेका सबै प्रहरी कर्मचारीले कोरोना सङ्क्रमणको जोखिम कम गर्न आजबाट फेस सिल्ड लगाएर मात्र ड्युटी गर्ने व्यवस्था मिलाएको जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले फिल्डमा नियमित खटिने मातहतका सबै प्रहरी कर्मचारीलाई फेस सिल्ड वितरण गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनुभयो ।

ड्युटीमा खटिने हरेक प्रहरी कर्मचारीले अब प्रहरीको लोगो र बागमती प्रदेश प्रहरी लेखिएको फेस सिल्ड लगाउने बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ड्युटीमा खटिने प्रहरी कर्मचारीको सम्पर्क धेरै व्यक्तिहरूसँग हुने भएकोले उनीहरूलाई सङ्क्रमणबाट जोगाउन र प्रहरी कर्मचारीबाट अन्य व्यक्तिमा संक्रमण फैलन नदिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त लामाको निर्देशनमा फेस सिल्ड उपलब्ध गराई ड्युटीमा रहँदा मास्क, फेस सिल्ड अनिर्वाग गरिएको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले कोरोना सङ्क्रमणको जोखिम कम गर्न मातहत कार्यालयहरूलाई पक्राउ परेका व्यक्तिहरू र संक्रमण जोखिममा कार्यरत सबै प्रहरी कर्मचारीको पिसिआर परीक्षण समेत अनिवार्य गर्न निर्देशन दिएको छ । त्यसै गरी हरेक प्रहरी कार्यालयमा प्रहरी क्वारेन्टीन बनाउने र बाहिर गएका प्रहरीलाई फर्केपछि पहिले क्वारेन्टीनमा राख्ने व्यवस्था गर्न समेत मातहत कार्यालयलाई निर्देशन गरेको छ ।