मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट घोषणा गरेको छ। मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन्।
गाउँपालिकाको बजेटको मुख्य फोकस कृषि क्षेत्रमा रहेको छ। ‘एक वडा, एक उत्पादन’ अभियानलाई प्रभावकारी बनाउन विभिन्न वडामा धान, कोदो, तरकारी, फलफूल, दूध, खुर्सानी, अदुवा लगायतका स्थानीय उत्पादनहरूको बजार विस्तारमा जोड दिइनेछ। जैविक खेती र थोपा सिँचाइ प्रणालीलाई पनि प्रवर्द्धन गरिने छ। पशुपालनका लागि गोठ सुधार, पशु स्वास्थ्य सेवा र दूध उत्पादन वृद्धि गर्ने योजना पनि समावेश गरिएको छ।
शिक्षा क्षेत्रमा प्राथमिकदेखि माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षा प्रदान गर्ने लक्ष्य छ। यसका लागि छात्रवृत्ति, शिक्षक प्रशिक्षण, पुस्तकालय र खेलकुद सामग्रीको व्यवस्था गरिनेछ। स्वास्थ्य क्षेत्रमा सबै वडामा आधारभूत सेवा विस्तार, निःशुल्क औषधि वितरण र प्रसूति सेवा प्रदान गरिने छ।
पर्यटन प्रवर्द्धनमा मकवानपुरगढी दरबार, ऋखेर गुफा, मनकामना मन्दिरलगायत स्थलहरूलाई प्राथमिकता दिइनेछ। स्थानीय उद्योग र साना उद्यमहरूको विकास गरी रोजगारी सिर्जना गर्ने योजना पनि रहेको छ। बालश्रम र बालविवाह रोकथामका लागि कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बजेटको ४१ करोड ७० लाख ६६ हजार रुपैयाँ चालु खर्च र ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजित छ। संघीय सरकारले ४३ करोड ६१ लाख, प्रदेश सरकारले ९ करोड ४ लाख, र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा छ। उपाध्यक्ष पाख्रिनले यो बजेटले गाउँपालिकाको दिगो विकास र जनताको आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनमा पारदर्शिता र सहभागीता सुनिश्चित गरिने बताइन्।