काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । फुटबल एकेडेमी सञ्चालनका लागि मछिन्द्रले आइतबार पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । मछिन्द्रले पिस पोइन्टसँग ६ वर्षको सम्झौता गरेको छ ।
एन्फा कार्यालयमा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल सङ्घ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । मच्छिन्द्र एकेडेमी सञ्चालन गर्ने विभाग बाहिरका पाँचौँ क्लब बनेको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र पिस पोइन्टका प्रिन्सिपल इशु गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फाको तर्फबाट उपाध्यक्ष तथा यूथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे । सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् । यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ, पुलिस क्लब तथा मनाङ मर्स्याङ्दी क्लब, सङ्कटा क्लब, न्युरोड टिम ९एनआरटी० र सात दोबाटो यूथ क्लबले एकेडेमी सञ्चालनको लागि सम्झौता गरिसकेका छन् । एसियाली फुटबल महासङ्घ९एएफसी०को कार्यक्रम अनुसार मछिन्द्रले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो ।