मकवानपुर । कोभिड–१९ महामारीको प्रभाव कायमै रहेको भन्दै मकवानपुरमा जारी निषेधाज्ञा आगामी भदौ १० गतेसम्म कायमै राखिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आइतबार बसेको बैठकले जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
बैठकले भोलि साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्री वितरण गर्ने व्यवसायहरू बिहान ५ बजेदेखि बिहान १० बजेसम्म खोल्न अनुमति दिएको छ ।
त्यस्तै बैठकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर र फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै, सार्वजनिक सवारीसाधनको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी जोर–बिजोर प्रणालीमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने अनुमति दिएको छ । यस्तै बैठकले बैङ्कहरू भोलि राति १२ बजेदेखि लागू हुने गरी सधैँ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो । अन्य निर्णय भने पुरानै यथावत् राख्दै निषेधाज्ञा कडाइका साथ कार्यान्वयन गरिने साथै निषेधाज्ञाको अवज्ञा गरे कडा कारबाही हुने उहाँले बताउनुभयो । यता कोभिडको प्रभाव बढ्दै गएको भन्दै मकवानपुरका दुई वटा कार्यालय (नापी र मालपोत) आजबाट एक साताका लागि बन्द गरिएको छ ।