हेटौंडा – कैलाश गाउँपालिकाले चालू आर्थिक बर्ष २०७६÷७७ का लागि बिनियोजन गरेको बजेट सार्बजनिक गरिएको छ । पाँचौ गाउँसभाले पारित गरेको बजेट पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले हेटौँडामा संक्षिप्त पत्रकार सम्मेलन गरी गाउँसभाबारे जानकारी गराएका हुन् ।

जेठ २३ गतेबाट सुरु गरिएको गाउँसभा नियमित प्रक्रियामार्फत नै असार ३० गते सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । कार्यपालिका बैठक तथा बिषयगत समितिहरुमा कार्यपालिका सदस्यहरुबाटै असमझदारीहरु पैदा गरेकाले बिनियोजित बजेटको दफावार शीर्षक र बजेट रकम छुट्याउन समस्या भएको थियो । जसका कारण गाउँसभा नै नभएको भन्ने हल्ला भएकोप्रति अध्यक्ष मुक्तानले आपत्ति ब्यक्त गरे । ‘हामी नियमित प्रक्रियामा छौँ, मन्त्रालय तथा सम्बन्धित निकायहरुमा पठाउनुपर्ने विवरणहरु समयमै पठाएका छौँ’, अध्यक्ष मुक्तानले भने–‘वडामा सिलिङ बजेट पाउनुपर्छ भन्ने पन्चायतकालीन मान्यता राख्ने केही साथीहरुले सञ्चारमाध्यमहरुमा हल्लाखल्ला गरेका हुन् ।’

मुक्तानले दिएको जानकारी अनुसार कैलाश गाउँपालिकामा कूल ३८ करोड ४२ लाख ७४ हजार रुपियाँ बराबरको बजेट बिनियोजित छ । जसमध्ये चालूतर्फ १६ करोड ८३ लाख ३९ हजार र पुँजीगततर्फ २१ करोड ५९ लाख ३५ हजार रुपियाँ रहेको कैलाश गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले बिनियोजन गरेका बजेटहरुमा गरिब तथा विपन्नको घरमा खरको छाना हटाएर जस्तापाता हाल्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ भने गरिवका छोराछोरीलाई स्नातकसम्म अध्ययन गर्ने वातावरणका लागि पनि बजेट बिनियोजन भएको छ ।
त्यसैगरी चुनियाँबाट नामटार, कालिकाटार, भार्ता, सानोडाँडाखर्क, छ्याङदुङ, खोलाखर्क, बरभन्ज्याङ, पकनी, गोगने हुँदै डाँडाबाससम्म निस्कने कैलाश मार्गलाई १२ महिना नै सञ्चालन हुने गरी व्यवस्थापन गर्न बजेट बिनियोजन भएको छ । कैलाश गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पशुसहित सामाजिक विकासका कार्यक्रमहरुलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । बजेटमा वडा नं ५ देखि वडा नं ३ मा रहेको गाउँपालिका केन्द्रसम्म जोड्ने बाटोका लागि १ करोड रुपियाँ बिनियोजन गरिएको छ । ४ नं वडाको लिक्चे पुग्ने सडक निर्माणका लागि ५५ लाख, बेतेघारी–कालिकाटार सडक मर्मतका लागि १४ लाख, भार्ता–छ्याङदुङ–खोलाखर्क सडक मर्मतका लागि ७० लाख, केउरेनी–खोलाखर्क सडक मर्मत २० लाख, कालिकाटार–भार्ता–गोकुवा सडक मर्मतका लागि १२ लाख, चौकीटार–कटहरे सडकका लागि १५ लाख, बेतिनी–म¥याङकोट–सुकुभन्ज्याङ–गिम्दी–रानीपोखरी सडक बिस्तार योजनाका लागि २० लाख रुपियाँ र भैपरी आउने सडक मर्मतका लागि २४ लाख बिनियोजित छ ।