हेटौंडा– नेपालमा आज थप एक हजार ५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप एक हजार ५ जना संक्रमण मुक्तभएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको जानकारी दिनुभयो ।
अब देशभर संक्रिय संक्रमितहरुको संख्या १७ हजार ६ सय ११ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका संस्थागत आईशोलेसनमा ८ हजार ९ सय २१ र होम आईशोलेसनमा ८ हजार ६ सय ९० जना रहेका छन् । हाल ५ सय भन्दा बढी संक्रमितहरु उपत्यकाका तीन जिल्ला सहित सिराहा, मकवानपुर, चितवन र रुपन्देही जिल्लामा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ३३ जनामा गरिएको परिक्षणमा एक हजार एक सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको कूल संख्या ६५ हजार २ सय ७६ जना पुगेको प्रा. डा. गौतमले जानकारी दिनुभयो । यस्तै कोरोना संक्रमणका कारण आज एकै दिन उपत्यकाका ६ सहित थप १६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । आज १३ पुरुष र ३ महिलाको मृत्यु भएको जानकारी दिनुभयो । संक्रमणबाट काठमाडौ उपत्यकाका ६, बाँकेका २ जना, झापा, सुनसरी, पर्सा, मकवानपुर, चितवन, दोलखा र रुपन्देही जिल्लाका १–१ जना जनाको मृत्यु भएको छ ।
यस्तै मन्त्रालयले सार्वजानिक यातायातमा यात्रा गर्दा सामाजिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्वास्थ्य सन्देशको उचित प्रयोग नभएका कारण संक्रमण दर बढिरहेको हुँदा सार्वजानिक यातायातको यात्रा गर्दा दुइ मिटरको दुरी बनाएर क्रमबद्ध रुपमा यातायातमा चढ्न, यात्रुहरुले बस चढ्नु र ओर्लनु अघि स्नेटाईजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो । यस्तै मन्त्रालयले काठमाडौ उपत्यकाका लगायत घना बस्ती भएको स्थानका ६० वर्ष पुगेका जेष्ठ नागरीक र बालबालीकाहरुलाई बाहिर निस्कन नदिन समेत अनुरोध गरेको छ ।