हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध उच्च अदातल पाटन हेटौँडा इजलासमा रिट दायर भएको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले रिट दायर गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष तिमल्सिना, ६ नम्बर वडा अध्यक्ष टेक बहादुर डिमडुङ, ७ नम्बर वडाध्यक्ष उत्तर बहादुर भोलन, ८ नम्बर वडाध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ का वडाध्यक्ष पुनराम घलानले संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलाई विपक्षी बनाएर अदालतमा रिट दायर गर्नुभएको हो । आइतबार नै रिट दायर भएर असार २४ गते सोमबारका लागि पेशी तोकिएको छ । रिटमा उत्पे्ररषण परमादेश माग गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले निर्णय प्रक्रियामा सहभागी नगराएको, संविधान र कानुन विपरीत गाउँपालिकाको कार्य सञ्चालन, कार्यपालिका सदस्यमाथि गैरकानुनी हस्तक्षेप गरेको र गाउँसभा गैरकानुनी ढङ्गबाट सञ्चालन गरेको रिटमा उल्लेख छ । यस्तै बजेट तर्जुमा समितिलाई जानकारी नै नगराई नीति कार्यक्रमको प्रस्ताव पेश गरेको, पालिका अध्यक्ष अधिकारको दुरुपयोग गरी कार्य सञ्चालन गर्दा पालिकाको काम पूर्णरुपमा गैरकानुनी भएको, संविधानको पूर्णरुपममा उपेक्षा भएको र एकलौटी रुपमा कार्यपालिका सञ्चालन गरेको रिटमा उल्लेख गरिएको छ ।

बागमती गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउन सकेको छैन । यसअघि असार १० गते गाउँपालिकाका उपाध्याक्ष, केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले बजेट ल्याउन लागेको भन्दै गाउँसभा नै बहिष्कार गरेको थियो । उपाध्यक्ष अनुपस्थित भएपछि गाउँपालिका अध्यक्ष सर्केश घलान आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मात्र गाउँसभामा प्रस्तुत गर्नुभएको थियो । अध्यक्षले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम भने बहुमतले पारित भइसकेको छ ।