हेटौंडाः पतंजली योग समिति मकवानपुरले आईतबार जडिबुटी दिवशका अवसरमा बृक्षारोपण गरेको छ । आयुर्वेद शिरोमणी आचार्य वालकृष्णजी महाराजको जन्मोत्सव तथा जडीबुटी दिवसका अवसरमा योग साधना केन्द्र हेटौंडा–४ मा जडीबुटी तथा फलफुलका बिरुवा रोपेको हो ।
पतंजली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष राम कृष्ण थापाको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा–४ स्थित योग साधना केन्द्र परिषरमा जडिबुटी तथा पलफुलका बिरुवारोप्दै मुख्यमन्त्री पौडेलले जडीबुटीको महत्व धेरै भएको बताउनुभएको छ । उहाँले जडीबुटीको संरक्षण गर्नुपर्ने समेत बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जडीबुटी संरक्षणमा स्थानिय तह लाग्नुपर्ने बताउनुभयो । उहाँले आयुर्वेदबाट स्वास्थ्यमा प्रतिकुल असर पनि नपर्नेभन्दै यसको प्रबद्धनमा लाग्नुपर्ने बताउनुभएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले उपमहानगरपालिकाले जडीबुटी संरक्षणमा समेत ध्यान दिएको बताउनुभएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, योग समितिका पूर्वअध्यक्ष बिष्णु श्रेष्ट, आयुर्वेद निरीक वैकुण्ठ आचार्य, उपाध्यक्ष शशिकला थापालगायतको सहभागिता रहेको थियो । योग साधना परिषरमा रुद्राक्ष, श्रीखण्ड, सतीसाल, एभोकाडो, अमला, वेल, निम, बकाईनोलगायतका बिरुवा रोपिएको अध्यक्ष थापाले बताउनुभएको छ । साथै बिरुवा सहयोग डिभिजन वन कार्यालय र होटल एभोकाडोले गरेको उहाँले जानकारी दिनुभएको छ ।