मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पताललाई हेटौंडाका व्यवसायिहरुले अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् । कोरोना संक्रमण बृद्धि भएसँगै अस्पतालामा अक्सिजन अभाव कम गर्ने उदेश्यका साथ उद्योग संघ मकवानपुरले विभिन्न उद्योगि व्यवसायिद्धारा रकम संकलन गरेर खरिद गरेको अक्सिजन प्लान्ट आइतबार अस्पताललाई हस्तान्तरण गरेकाे हाे ।

जिल्ला समन्वय समिति मकवानपुरलगायतकाे आग्रहमा उद्योग संघ मकवानपुरले सामाजिक उत्तरदायित्व अन्तरगत निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा अक्सिजन प्लान्ट खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ३१ जना उद्योगि व्यवसायिबाट संकलित रकमबाट उद्योग संघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा प्लान्ट खरिद गरी अस्पतालाई हस्तान्तरण गरेको हो । उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको थियो । प्लान्टबाट दैनिक ११५ देखि १२० सिलिण्डर सम्म अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ । अक्सिजन प्लान्टको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरी अक्सिजन उत्पादन सुरु गरिएको छ ।

अक्सिजन प्लान्टको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालको सेवा बृद्धि गर्न प्रदेश सरकार लागेको बताउनुभयो । दुइ वर्ष भित्र पाँच सय शैयाको अस्पताल निर्माण गर्ने लक्षयका साथ भवन निर्माणको काम भइरहेको वताउनुहुँदै मुख्यमन्त्री पौडेलले निजि क्षेत्रले समेत सहकार्य र सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अक्सिजन प्लान्टका लागि जिल्ला समन्वय समिति मकवानपुरले बिषेश पहल गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । यस्तै जिल्ला ससमन्वय समिति मकवानपुरकै समन्वय र सहकार्यमा जिल्लामा सरुवा रोग अस्पताल निर्माणको काम अगाडी बढेको हुँदा त्यसमा सबैको साथ र सहयोग हुनु पर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी भए पछि हेटौंडामा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आमुल परिर्वतन आएको बताउनुभएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाटनै कोरोना नियन्त्रण र उपचारका लागि काम गर्न सहज भएको वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललले जिल्ला समन्वय समितिले गरेको आग्रहलाई स्विकार गर्दै उद्योग संघ मकवानपुरले व्यवसायिहरुको सहयोगबाट अस्पताललाई अक्सिजन प्लान्ट उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । उहाँले जिल्ला समन्वय समितिकै समन्वय तथा मकवानपुरका स्थानीय तह, प्रदेश सरकार रकेन्द्र सरकारको समेत सहकार्य हुने गरि सरुवा रोग अस्पताल निर्माण प्रकृया सुरु भएकले यसमा समेत सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । अस्पतालमा अहिले ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालमा १७ बेड आईसीयू, १६ शय्याको एचडीयू, भेन्टिलेटरसहितको ६ वटा र आकस्मिक कक्षमा ८ वटा बेड रहेका छन् । अस्पतालमा अहिले जम्मा १ सय २० शैया रहेको छ ।