निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ३ सय ५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध हुनुभएको जनाएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७ सय ५३ वटा स्थानीय तहमा ६ हजार ७ सय ४३ दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको जानकारी दिनुभयो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताको प्रावधान विपरीत उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोले यस्ता गलत र भ्रामक प्रकृतिका कार्य नगर्न आयोगले चेतावनी दिएको बताउनुभयो ।
निर्वाचनको मिति नजिकिँदै गएको समयमा इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपालले इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको सहायक–प्रवक्ता अर्यालले उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको र काठमाडौँबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरूमा ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनु भएका केशव स्थापितले वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरूलाई सचेत गराएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार शशाङ्क कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनुभएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।