काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जुम मार्फत आयोजित कार्यक्रमका बिच तीन हजार सिट क्षमता रहेको देशकै ठूलो सभा हलको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले देशमा अस्थिरता चाहनेहरूले पछिल्लो राजनैतिक घटनाक्रमलाई प्रतिगमनको संज्ञा दिई भ्रम फैलाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ पुरा नभएपछि प्रतिगमन भयो भनी जनतामा भ्रम फैलाएर क्रान्तिकारी देखिने प्रयास भइरहेको बताउनुभयो । देशलाई कोरोना सङ्कटबाट मुक्त गराउन सरोकारवालाहरू समन्वय गरी प्रभावकारी कदम चाल्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन देशका सबै अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास भइरहेको पनि बताउनुभयो । विक्रम संवत् २०७६ सालदेखि निर्माण सुरु गरिएको सम्मेलन केन्द्रको पहिलो ब्लकमा शौचालय, पाहुना कक्ष तथा विशिष्ट व्यक्तिहरूका लागि छुट्ट्याइएको कक्ष रहेको छ भने दोस्रा ब्लकमा तीन हजार सिट क्षमताको सभा हल र तेस्रो ब्लकमा सानो बैठक कक्ष र हल रहेको छ ।