मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा प्रदेशका विभिन्न जिल्लामा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेर वितरण गरिएको छ । प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अबस्था प्रति संवेदनशील हुँदै सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको हो ।
प्रहरीको सकृयतामा ठुला उद्योग, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तिहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो । बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरिएको हो ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट संकलन गर्ने सन्दर्भमा हालसम्म १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको सिल्वालले वताउनुभयो । संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै र अत्यावश्यक अनुसार अन्य स्थानहरुमा समेत उपलब्ध गराईएको छ । जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको उहाँले बताउनुभयो । यस्तै स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको उहाँले बताउनुभयो ।