राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको दीर्घकालीन रूपान्तरण र समान सोच भएका व्यक्ति तथा समूहहरूबीच ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने भएको छ । पार्टीका उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्ले द्वारा हस्ताक्षरित निमन्त्रणापत्र अनुसार, यो संवाद २०८२ कार्तिक १४ गते शुक्रबार दिउँसो १ बजे नेपाल हाउस, बालुवाटार, काठमाडौँमा हुनेछ।

लामो समयदेखि विद्यमान संसदीय अनुभवबाट दिक्क भई परिवर्तनको पक्षमा उभिएका ‘जेन-जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनपछि विकसित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको संरक्षण र दीर्घकालीन रूपान्तरणको लागि समान सोच र शैली भएका राजनीतिक दल, व्यक्ति, समूह तथा वृहत् राजनीतिक एलायन्सको गृहकार्य स्वरूप यो संवाद आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

संवादका मुख्य उद्देश्यहरू:

रास्वपाले यो वृहत् राजनीतिक संवादमार्फत देहायका तीन मुख्य उद्देश्य प्राप्त गर्न चाहेको उल्लेख गरेको छ:

१.  आन्दोलनको उत्पत्ति र नतिजाबारे साझा बुझाइ: आन्दोलनको उत्पत्ति, नतिजा र आगामी सुधारका सन्देशबारे साझा बुझाइ स्थापित गर्ने।

२.  वृहत् एकता र सहकार्यको रेखांकन: लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने।

३.  रणनीतिक साझेदारीको सम्भाव्यता: उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यतामाथि छलफल गर्ने।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस कार्यक्रममा सार्थकताका लागि जुर्मुराएका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नसुध्रिएका पुरानाको प्रतिनिधित्वबीच सार्थक सहकार्य हुँदा परिणामको ढोका खोलिने अपेक्षासहित विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि आमन्त्रण गरेको छ।