हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टीबाट अलग हुने घोषणा गर्नु भएको छ ।  आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन् ।
दीपक सिंहले टिकट पाएपछि रूष्ट बनेका राप्रपा नेता मधु अधिकारीले राप्रपा छोडेका छन् । काम गर्ने कालु मकै खाने भालु प्रवृत्ति मौलाएको भन्दै अधिकारीले राप्रपाबाट अलग भएका हुन् ।कमल थापाको गृह जिल्ला मकवानपुरमा राप्रपाका जिल्ला अध्यक्ष गुरूप्रसाद सापकोटासहित अधिकांश राप्रपा नेपालमा गएपछि मेहनत गरेर राप्रपा मकवानपुरको कार्यसमिति गठन गर्दै अभियान चलाइरहेका अधिकारीलाई स्थानीय तहको निर्वाचनमा पार्टीले मेयरको उम्मेदवार बनाउन लागेको थियो । तर अन्तिम क्षणमा काठमाडौंमा रहेका सिंह टिकट लिएर त्यही दिन हेटौंडा आएर निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका थिए । पार्टीलाई फुटबाट जोगाउन र संगठन गर्न कुनै भूमिका नरहेका सिंहले टिकट पाएपछि उनले काम गर्ने कालु मकै खाने भालु भनेर सिंहलाई कटाक्ष गरेका थिए ।