३ नम्बर प्रदेशको मुख्य न्यायाधीवक्तामा ओमप्रसाद थपलिया सिफारिस हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्य न्यायाधीवक्तामा काठमाण्डौ महानगरपालिका–१४ कलंकी निवासी थपलियालाई सिफारिस गर्नुभएको हो ।
बिहीबार मुख्य न्यायाधीवक्तामा सिफारिस हुनुभएका थपलियालाई साउन १२ गते साढे ११ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले सफथ खुवाउने कार्यतालिका तय भएको छ । प्रदेशको मुख्य न्यायाधीवक्तामा सिफारिस गरिए पनि औपचारिक रुपमा भने मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छैन ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ । २०४४ साल देखि नै अधिवक्ताबाट कानुनी क्षेत्रमा लाग्नुभएका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा वकिल पेसामा आवद्ध हुनुहुन्छ । नुवाकोट जिल्लाको तत्कालीन मदनपुर गाविसमा जन्मनुभएका थपलिया २०७४ सालको साउन महिनामा वरिष्ठ अधिवक्ता हुनुभएको हो । यसअघि मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएपछि पद खाली रहेको थियो । तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका थपलिया राजनीति शास्त्रमा एमए र कानूनमा एलएलएम सम्मको अध्यन गर्नुभएको छ ।