इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को अक्सन डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ । फ्रेन्चाइज अधिकारीहरूका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफलपछि डिसेम्बर १३ देखि १५ बीच अक्सन हुने मिति सम्भावित देखिएको समाचार संस्था क्रिकबजले जनाएको छ । यद्यपी, लिगको गभर्निङ काउन्सिलले औपचारिक रूपमा तालिका पक्का गरेको छैन ।
यसपटक अक्सन भारतमै हुने सम्भावना बढी छ। अघिल्ला दुई संस्करणमा अक्सन विदेशमा भएको थिषो । सन् २०२३ मा दुबई र २०२४ मा साउदी अरेबियाको जेद्दामा अक्सन भएको थियो। तर यो पटक बीसीसीआईले मिनी अक्सन भारतमै गर्ने तयारी गरिरहेको बताइएको छ। फ्रेन्चाइजहरूले नोभेम्बर १५ भित्र आफ्नो रिटेन्सन सूची (राख्ने र छोड्ने खेलाडीहरू) पठाउनुपर्नेछ। त्यतिबेलासम्ममा टिमहरूले अक्सनअघि छोड्ने खेलाडीहरूको नाम टुंग्याउनेछन्।

यो सिजन ठूला परिवर्तन हुने संकेत खासै छैन, तर चेन्नई सुपर किङ्स (सीएसके) र राजस्थान रोयल्सबाट केही फेरबदल हुने अपेक्षा गरिएको छ। यी दुई टिम अघिल्लो सिजनको तल्लो स्थानमा रहेका थिए।
रिपोर्टअनुसार, दीपक हुड्डा, विजय शंकर, राहुल त्रिपाठी, साम करान र डेभन कोनवे जस्ता खेलाडीहरू रिलिज सूचीमा छन्। चेन्नईका लागि ठूलो परिवर्तनको रूपमा आर अश्विनको आईपीएलबाट सन्यासपछि ९.७५ करोड रुपैयाँ बजेटमा थपिएको छ।
राजस्थान रोयल्सले कप्तान सञ्जु सामसनको ट्रेड गर्न नसकेको अवस्थामा रिलिज सूचीमा उनको नाम पनि हुन सक्ने चर्चा छ । अन्य सम्भावित रिलिज हुने खेलाडीहरूमा टी नटराजन, मिट्चेल स्टार्क, आकाश दीप, मयंक यादव र डेभिड मिलर समेत छन्।
यसैबीच कोलकाता नाइट राइडर्सका वेंकटेश अय्यर, जसलाई गत अक्सनमा २३.७५ करोडमा किनेको थियो, उनको भविष्य पनि अनिश्चित देखिन्छ। फ्रेन्चाइजबीचको चर्चाअनुसार अष्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन यो अक्सनका सबैभन्दा आकर्षक खेलाडीमध्ये एक हुने पक्का छ। चोटका कारण उनले अघिल्लो अक्सन गुमाएका थिए, तर यसपटक धेरै टिमहरूले उनलाई आफ्नो सूचीमा प्राथमिकताका रूपमा राखेका छन्।