काठमाण्डाै – नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको आत्मविश्वास झनै बढाएको बताउनुभएकाे छ । बंगलादेशविरुद्ध नेपाली टिमले ३–० को सहज जित निकालेपछि पत्रकारसँग कुरा गर्दै भट्टले तयारी अनुसारको नतिजा आएको बताउनुभयाे । उहाँले हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेकाले सागमा पनि स्वर्ण पदक जित्नु पर्ने चुनौती रहेको बताउनुभयाे ।
बंगलादेशी टिमको स्तर नेपालको भन्दा कमजोर भएकाले पनि नेपाली खेलाडीले बिस्तारै खेलेको प्रशिक्षक भट्टको भनाइ छ । उहाँले बिहीबार भारतसँगको खेलका लागि आफू तयार रहेको बताउँदै बुधबार भएको गल्ती भारतसँगको खेलमा कम हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।
नेपालले बंगलादेशलाई पहिलो र दोस्रो सेटमा दश अंकभन्दा कममा हराए पनि तेस्रो सेटमा भने ११ अंक सम्म पुगेको थियो । यस विषयमा जवाफ दिँदै सबै खेलाडीलाई मौका दिएको र यसले खासै फरक नपर्ने उल्लेख गर्नुभयाे ।
भारतलाई एसियाको भलिबलमा पावर हाउसको संज्ञा दिँदै भारतसँग जित निकाल्ने लक्ष्यका साथ खेल्ने बताउँदै यदि समूह चरणमा पराजित भए सेमिफाइनलमा श्रीलंकासँग खेल्दै फाइनल पुग्ने लक्ष्य रहेको पनि उहाँले सुनाउनुभयाे ।
यस्तै नेपाली टिमकी कप्तान अरुणा शाहीले आज राम्रो खेलेपनि आज भएको गल्ती अर्को खेलमा कम हुने प्रतिबद्धता जनाइन् । बंगलादेशका प्रशिक्षकले नेपालले राम्रो गेम खेलेको बताउँदै आफ्नो टिम नयाँ भएकाले अझै एक्स्पोजरको आवश्यकता रहेको अभिव्यक्ति दिए।