भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल दिउँसो २:१५ बजे अहमदाबादमा सुरु हुनेछ । दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमिफाइनल प्रवेशको झिनो आशासहित मैदान उत्रिँदैछ ।
आठ खेल खेलेको अफगानिस्तान ८ अंकसहित छैटौँ स्थानमा छ । उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन । कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना छ । हाल १० अंकसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ ।
एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र अफगानिस्तान एक पटकमात्र भिडेका छन् जसमा दक्षिण अफ्रिकाले ९ विकेटको जित निकालेको छ । यस्तै भोलि सेमिफाइनलको अर्को प्रत्याशी टोली पाकिस्तानले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।