फागनुन १५, मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–९ खलङ्गामा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका हुन् ।
गएराति करिब ११ः२० बजे काठमाडौंबाट काकरभिट्टातर्फ जाँदै गरेको प्र.०१–०१ ००१ ख ४७६८ नम्बरको यात्रुवाहक बस र हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.प्र.०६–००१ ख ०४१५ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसमा सवार ३७ यात्रुमध्ये १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडास्थित अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अस्पतालमा उपचाररत घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको जनाइएको छ । प्रहरीले अन्य यात्रुलाई वैकल्पिक सवारी साधनमार्फत गन्तव्यतर्फ पठाएको जनाएको छ । दबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र दुर्घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।









