कोरोना भाइरसबाट आज एकै दिन ३ हजार ४ सय ३९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १४ हजार २ सय ९ वटा नमूना परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । ज ६५ जिल्लाका १ हजार २ सय ६१ जना महिला तथा २ हजार १ सय ७८ जना पुरूष संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार २ सय ९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २ सय ९३ जना गरी उपत्यकामा मात्रै १६ सय ८४ जना संक्रमित थपिएका छन् । यसैगरी उपत्यका बाहिर मोरङका ३ सय २२, सुनसरीका १ सय ९३, चितवनका १ सय ३१, रुपन्देहीका १ सय ३०, बाँकेका १ सय ६, मकवानपुरका ९९, सुर्खेतका ७८ तथा काभे्रका ५१ जना संक्रमित भएका छन् । यसैगरी आज थप १ हजार १ सय २६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सम्म ६८ हजार ६ सय ६८ जना संक्रमण मुक्त भएको र निको हुने दर ७२ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा। डा। गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको २५ हजार ७ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा र १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज ५ महिला र १० पुरूष गरी थप १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । आज काठमाडौंका ६, मोरङका २ तथा रौतहट, सिराहा, ललितपुर, चितवन, रूपन्देही, नवलपरासी र दाङका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य ज्वरो तथा रूघाखोकीका बिरामीलाई अस्पताल नजान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बिरामीलाई श्वास फेर्न गाह्रो हुने, बेहोस हुने, पिसाब बन्द हुने जस्ता जटिल अवस्था आएमा माात्रै अस्पताल जान आग्रह गर्नुभयो । मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले कोरोना संक्रमितको उपचार तथा अन्य सुविधाका लागि आवश्यक सहजीकरण गरिदिन सबै सरकारी तथा निजी अस्पतालहरू लाई आग्रह गर्नुभएको छ । संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौ उपत्यका लगायतका ठाउँमा बिरामीलाई आवश्यकता अनुसार अस्पतालको बेड व्यवस्था गर्न कठिन हुँदै गएको प्रवक्ता प्रा.डा.गौतमले बताउनुभयो । प्रवक्ता प्रा. डा. गौतमले कोरोना भाइरसको संक्रमण जनस्वास्थ्यको ठूलो समस्या भएको हुनाले यसको नियन्त्रण र रोकथामका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो