मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबार जिल्लाको मनहरी गाउँपालिकाको अनुगमन गरेको छ । स्थानीय तहहरुको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, बालमैत्री स्थानीय तह घोषणा पछिको अवस्था, गाउँपालिकामा आइपरेका समस्या तथा चुनौति, स्थानी तह स्वमुल्याङ्कन (लिजा) को विषयमा समेत जानकारी लिएको छ । सो क्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार श्रेष्ठलगायत अन्य शाखाका कर्मचारीहरुले हालसम्मको प्रगतिको अवस्था र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो ।
सो क्रममा गाउँसभाबाट पारित भएका २७७ वटा योजना मध्ये हालसम्म १३७ वटा सम्झौता भई कार्यान्वयनमा रहेको साथै १०६ वटा योजनाहरु फरफारक भईसकेको जानकारी दिईएको छ । यसबाहेक पनि अन्य ठेक्का मार्फत सञ्चालित याृजना, कृषिका योजना तथा गाउँ कार्यपालिकाबाट सञ्चालित योजनाहरुको अवस्था सन्तोष जनक रहेको जानकारी दिईएको छ । विशेष गरि गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने योजनाहरुमा भने स्रोतको अभावमा समस्या भएको गाउँपािलकाका अध्यक्ष उप्रेतीले बताउनुभयो । गाउँपालिकाको अधिकार कार्यान्वयन गर्न नपाउँदा र प्राकृतिक स्रोतबाट आउन राजस्व संकलन हुन नपाउँदा आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने योजनाहरु नै कटौति गर्नुपर्ने अवस्था सृजना भएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो ।
सो क्रममा टोलीले गाउँपालिकाका विभिन्न योजनाहरुको समेत स्थलगत अनुगमन गरेको थियो । अनुगमन टोलीले गाउँपालिकाद्धारा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम, वडा नम्बर ३ स्थित १० करोडको लागतमा निर्माणधिन पुल, बनकरीया होमस्टेलगायत देशमै नमुना बयर खेती, कुरीलो खेती, आर्गानीक तरकारी खेतीलगायतका अन्य योजनाहरुको अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, गाउँपालिकाका लेखा अधिकृत संगिता अधिकारी, राजस्व शाखाका डिल्लीराम रेग्मी, जिसस प्रेस संयोजक बिवश अधिकारीलगायतको सहभागिता थियो ।