हेटौंडाः बिहान खाना खाएर विद्यालय जाने बालबालिकालाई अभिभावकले खाजाको समेत जोहो गर्ने गर्छन् । आआफ्नो आर्थिक हैसियत अनुसार खाजाको जोहो गर्ने अभिभावकलाई हेटौंडास्थित एक विद्यालयका विद्यार्थीले यो वर्षा मौसममा विद्यालयबाट आँप कोसेली पुर्याएका छन् । आधारभूत तह(५ कक्षासम्म) पढाई हुने हेटौंडा–९, बेतखोल्सीस्थित दिव्यज्योति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालय परिसरमा ४ वर्ष अघि लगाएको आँपको बिरुवाले तीन वर्षदेखि फल दिन लागेको छ । आधारभूत तहका बालबालिकाले आँपका बोटमा फूल फूल्न थालेदेखि नै स्याहार गरेर फलाएको आँपका दाना पाकेपछि विद्यार्थीले विद्यालयमा खाने मात्रै नभई अभिभावकलाई समेत कोसेली पुर्याएका हुन् ।

विद्यालय परिसरमै फलेको आँप विद्यार्थीलाई वितरण गरिँदै ।

विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम आचार्यले बालबालिकालाई विद्यालयमा व्यवहारिक ज्ञान दिने क्रममा विद्यालय परिसर सुन्दर बनाई अनुशासित भएर रहन र मिहिनेत गर्न सिकाउने क्रममा हरेक वर्ष आँप, लिच्ची, अम्बा, कटहर, कागती लगायतका फलफूलका बिरुवा लगाएर हुर्काएको जानकारी दिनुभयो । फलफूलको बोटमा विद्यार्थीको नामनै राखेर उनीहरुलाई हेरचाह गर्ने र फल फलाउने जिम्मा दिइएको उहाँको भनाइ छ । ‘हामीले विद्यालयमा फलेको आँप विद्यार्थीहरुलाई बाँड्यौं, अभिभावक, विद्यालय व्यवस्थापन समिति, उपसमिति, शिक्षक, अभिभावक मिलेर खायौं’, प्रधानाध्यापक पुरुषोत्तम आचार्यले भन्नुभयो, ‘हरेक फलफूलको बोट निश्चित विद्यार्थीको नाममा राखिएको छ । ती विद्यार्थीले हेरचाह गर्ने, गोडमेल गर्ने र मलजल गर्ने गर्छन् । विद्यालय परिसर सुन्दर देखिने, बालबालिकाले अनुशासन सिक्ने, बालबालिकाले मौसमी फलफूल समेत खान पाउने भएपछि अभिभावक पनि खुसी छन् । फलफूलका बिरुवा लगाउने अवधारणासम्बन्धी विद्यालयको प्रयोगले बालबालिका घरमा समेत अनुशासित र जिम्मेवार भूमिकामा रहने गरेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

विद्यालय परिसरमै फलेको आँप विद्यार्थीलाई वितरण गरिँदै ।

विद्यालयले बालबालिकालाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गरेको छ । विद्यालयले त्यसमा धेरै मिहिनेत समेत गर्नु नपरेको प्रधानाध्यापक पुरुषोत्तम आचार्यले बताउनुभएको छ । “हामीले खासै केहि गरेका छैनौं, विद्यार्थीलाई नै सहभागी गराएर शिक्षण सिकाईलाई अगाडि बढाएका मात्रै हौं’, उहाँले भन्नुभयो । विद्यालयले सिकाईमा आधारिक शिक्षा प्रणाली अवलम्बन गरेको छ । अहिले विद्यालयमा त्यसको परिणाम पनि देखिएको छ । पहिले विद्यालयमा विद्यार्थी पठाउन नचाहने अभिभावक पनि अहिले आफ्ना बालबालिका भर्ना गर्न रुचाउने वातावरण बनाएको उहाँले बताउनुभयो ।

विद्यालय परिसरमै फलेको आँप विद्यार्थीलाई वितरण गरिँदै ।

विद्यालय परिसरमा लगाईएको फलफुलका बिरुवा तथा शिशु कक्षाको व्यवस्थापन विद्यालयको प्रमुख आकर्षण बनेको छ । विद्यालय परिसरमा ४ वर्ष अगाडि २ सय ५० वटा विभिन्न प्रजातिका फलफुलका बिरुवा रोपिएको थियो । “बाल बालिकाले बिरुवा भाँच्ने डर हुँदाहुँदै हामीले बिरुवा लगायौं, तर उनिहरुले हामीले भन्दा बढी स्याहार गरेर हुर्काए । अहिले फल फल्न थालेको छ, बालबालिकाहरु आफ्नो मिहिनेतले प्रतिफल पाएकोमा खुसी छन् । हामी विद्यार्थीको मिहिनेत र अनुशासन देखेर खुसी छौं’, प्रधानाध्यापक अर्चायले थप्नुभयो । विद्यालय परिसरमा ६० बोट आँप, ३ बोट लिच्ची, १३ बोट अम्बा, १२ बोट कटहर र २ बोट कागतीका बोट छन् ।