हेटाैंडा, २७ पुस । जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना गरिएको प्रतियोगितामा आइतबार बिहान दुई सेमिफाइनल खेल सम्पन्न हुँदैछ ।
पहिलो सेमिफाइनलमा आयोजक प्रगति माध्यमिक विद्यालय र मकवानपुरगढी–८ स्थित रुपनारायण माध्यमिक विद्यालय भिड्दैछन् भने दोस्रो सेमिफाइनलमा ज्ञानदीप शिक्षा (जीएस) निकेतन र कृष्ण आदर्श सेकेण्डरी स्कूल आमनेसामने हुनेछन् ।
जिल्लाका निजी तथा सामुदायिक १९ विद्यालय सहभागी प्रतियोगिताको फाइनल खेल आज आइतबार दिउँसो २ बजेदेखि हुनेछ। प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।











