मकवानपुरबाट उपाध्यक्षसहित तीनजना निर्वाचित

हेटौंडा, २६ पुस । देशभरिका उद्धान, पार्क एवं धार्मिक पर्यटकीय स्थलहरुको छाता संगठन नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । रूपन्देहीकाे शंकरनगर वनविहार अनुसन्धान केन्द्रमा पौष २५ र २६ गते अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट पुनः रुपन्देहीका खेमप्रसाद लुइँटेलको अध्यक्षमा २३ सदस्यिय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । महाधिवेशनबाट उपाध्यक्षमा मकवानपुरका रघुनाथ खुलाल र पाल्पाका दलबहादुर गुरुङ, महासचिवमा रुपन्देहीका बेलप्रसाद शर्मा, सचिवमा सुनसरीका लक्ष्मीप्रसाद खनाल, कोषाध्यक्षमा कपिलबस्तुका शान्ति खनाल निर्विरोध चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा मकवानपुरका गोपाल बहादुर श्रेष्ठ र इन्द्रप्रसाद नेपाल, हरिलाल सापकोटा, नारायण बहादुर केसी, चेतबहादुर खड्का, विष्णुराज आचार्य, पवन रिजाल, टंकप्रसाद पराजुली, निरबहादुर श्रेष्ठ, खिमलाल पाण्डे, डिल्लीराज भण्डारी, श्याम न्यौपाने, सागरप्रसाद देवकोटा, हेमबहादुर बस्नेत, हिमाल श्रेष्ठ, टीका ओली र हरिकला कुमाल चयन हुनुभएको छ । यसअघि अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले उद्यान सञ्चालन गर्दा देखापरेका समस्यालाई समाधान गर्न आफूले नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्यान महासंघका अध्यक्ष खेमप्रसाद लुइँटेलले उद्यानहरु व्यस्थित तरिकाले सञ्चालन गर्न स्पष्ट कानुन आवश्यक रहेको बताउँदै महासंघले यो विषयमा निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । प्रायः उद्यानहरु वन, सार्वजनिक तथा सरकारी जग्गामा रहेकाले उद्यानलाई प्रवर्धनका गर्न स्पष्ट कानुन आवश्यक रहेको उहाँको भनाइ छ । राज्यले कानुन नबनाउँदा धेरै ठाउँमा वन र पार्कबीच द्धन्द्ध चल्ने गरेको बताउँदै वनका विभिन्न प्रकारहरु मध्ये अब उद्यान वनको अवधारणामा जानुपर्ने बताउनुभयो । शुक्रबार र शनिबार तिलोत्तमाको वनवाटिकामा सम्पन्न भएकाे प्रथम साधारणसभा तथा अधिवेशनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनुको साथै उद्यान र पर्यटन प्रवर्धनका विभिन्न आयामको बारेमा छलफल भएको महासचिव बेलप्रसाद शर्माले जानकारी दिनुभयो ।
नेपाल उद्योग महासंघका अध्यक्ष खेमप्रसाद लुइँटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, संविधान सभा सदस्य नेत्रप्रसाद पन्थी, लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री भगवती घिमिरे, बुटबल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडलगायतको विशिष्ट आतिथ्यता थियो । अधिवेशनबाट बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल महासंघको केन्द्रिय प्रमुख सल्लाहकार चयन हुनु भएकाे छ ।