मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३.६७ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार चालु आवको प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनीक गर्दै तीन महिनामा ३.६७ प्रतिशत मात्र पुँजीगत खर्च भएको जनाएको हो ।
मन्त्रालयका अनुसार साउन देखि असोज मसान्तसम्मको अवधिमा १ अर्ब ३० करोड ४४ लाख ३३ हजार १५१ रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको ३.६७ प्रतिशत मात्र हो । यस आवमा सरकारले पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यसै अवधिमा बागमती प्रदेश सरकारको चालु खर्च भने ११.०४ प्रतिशत पुगिसकेको छ । तीन महिनामा २ अर्ब ९३ करोड ३९ लाख ७० हजार २७३ रुपैयाँ भएको हो । यस्तै वित्तीय व्यवस्थामा यस अवधिमा कुनै खर्च भएको छैन । कुल बजेट खर्च भने तीन महिनामा ६.७७ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांक रहेको छ । तीन महिनाको अवधिमा बागमती प्रदेश सरकारले ८.६४ प्रतिशत राजस्व उठाउन सकेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बराबरको बजेट ल्याएको थियो । जसमा चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत बजेट रहेको छ । जस अनुसार चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ रु. ५० करोड रहेको छ ।
प्रदेश सरकारले आयतर्फ भने, कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरने जनाएको थियो ।