प्रतिकारात्मक तस्विर

मकवानपुर । हेटौंडामा शुक्रबार बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् ।
शुक्रबार हेटौंडा–१५ रातोमाटेमा ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका–१२ बस्ने ३२ बर्षीया निशा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बसले सोही दिशबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार निशा र चालक उनका श्रीमान ४३ बर्षीय रोशन कुमार राय घाइते भएका थिए ।
उनीहरुको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा निशालाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । प्रहरीका अनुसार निशाको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते रोशनको खुट्टामा चोट लागेको र उनको चोटको अवस्था सामान्य रहेको शाहले बताउनुभयो । बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।