हेटाैंडा, माघ २९ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीलाई १२४ रनकाे लक्ष्य दिएकाे छ । भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायाे ।
नेपालका आरिफ शेखले २७, कप्तान राेहित पाैडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाए । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए । आजकाे खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन् । उनी शेर मल्लकाे ठाउँमा टाेलीमा परेका हुन् ।
प्रतियाेगितामा नेपालकाे याे दाेस्राे खेल हाे । पहिलाे खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएकाे थियाे । यस्तै इटाली पहिलाे खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएकाे थियाे । समूह ‘सी’ मा नेपाल चाैथाे र इटाली पुछारमा छन् ।
टी–२० विश्वकपमा आज भएकाे पहिलाे खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दाेस्राे जीत हासिल गरेकाे छ । आजै तेस्राे खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।